Saturday, April 16, 2011

हराएको डायरि।

 -गोविन्द न्यौपाने
उसै त भुलक्कड हिजोबाट मेरो डायरि पनि हरायो। यो मेरो डायरि कहिले कहाँबाट कसरि हरायो पत्तो छैन। डायरि यति बृहत थियो  कि यसमा इतिहास, संस्कृति, सभ्यता लगायत हरेक पक्ष अटेको थियो। हुन त यसमा भएका सबै खाली पाना टिपोटले भरिनसकिएको भए पनि लेखे जति पानाहरु धेरै अमुल्य छन्। यसमा मेरो व्यक्तिगत दैनिकी मात्र नभएर जीवन र जगतबीचको सन्तुलनका कुरा अनि अनि दर्शन र साहित्य पनि राम्ररी अटेको थियो। यसमा टिप्पणी गरिएका संस्कृतिका प्रसंगले त बेलाबेलैको मेरो बिस्मृतीलाई हटाईदिने गर्थ्यो। तर एक्कासी यो डायरि नापत्ता भएको हुँदा म अल्मलिएर बेलाबेलै अनायासै भन्नथालेछु "डियर आइ अल्वेज रिमेम्बर यु ( Dear I always remember you- DIARY)" तर डियर भने चाहिँ प्रत्युत्तरमा मौन।
म धेरै पटक बसाईं सरि सकेको छुँ। कहिले घर भित्रै सुत्ने कोठा सरियो, कहिले गाउँ सरियो त कहिले देश महादेश नै सरियो। न्वारनमा नाउँ राख्दा देखि नयाँ गाउँ चाख्दाको दैनिकी होस या गाउँकै हर्के साउसँग पैसा सापट लिँदाको तमसुक होस मेरो डायरीमा टिपिएका छन् भने मेरा लागि यी अति महत्वपूर्ण छन्। माग्ने जस्तो बिगतका थाङ्ने गतिविधि र कागजका टुक्रा जोडेर बनाइएको डायरिमा कैद गरिएका झिना कुरामा अल्झिएर पनि कतै मान्छेले प्रगति गर्ला भन्नु होला तपाईंहरुले। तर मेरो लाल डायरि त विगत भन्दा वर्तमान र त्यो भन्दा पनि भविष्यतको बढी नै ख्याल राखेर तयार गरिएको हो। त्यसैले मैले यसको हिफाजत/ सदुपयोग  गरेको भए यो डायरि मलाई मात्र नभएर जो कोहीलाई पनि प्रगतिको पथमा लम्कन मद्दत गर्ने कुरोमा म निर्धक्क छु। तर मैले त्यस्तो केहि पनि गरिन। यति दुरदर्शी सोचाई राखेर मेरो लाल डायरि तयार गर्न कति समय लग्यो होला भन्ने कौतुहल्ता अवश्य जाग्यो होला तपाईंहरुमा।  हुन त म कुनै ज्योतिषि या गणितज्ञ होइन। त्यसैले मेरो गणनामा त्रुटी (error) हुन सक्छ। त्रुटी मात्रालाई नहटाई भन्नु पर्दा मेरो डायरि मेरो उमेरको करिब आधा उमेर मात्र हो भने जन्म मिति चाहिँ आफ्नो भन्दा केहि दिन पछि मात्र।
यसरी सुरुकै अवस्था देखि प्राविधिक/ सैधान्तिक हिसाबले विवादित बनेको मेरो डायरिको महत्ता मलाई पनि अहिले मात्र आभास हुदैछ।यो चाहिँ एउटा मानवीय प्रकृति पनि हो - कुनै पनि वस्तु आफूसँग होउन्जेल त्यसको मोल (अर्थ ) थाहा नहुने अनि त्यसलाई गुमाई सकेपछि मात्र त्यसको वास्तविक अर्थ थाहा हुने। 
अझ अर्को मानवीय विशेषता हो असन्तुष्टि। यसकै कारण विश्वसमुदाय आदिम युग देखि अहिलेको भौतिक सुविधा सम्पन्न अवस्थामा आउन सफल भएको हो। अर्का पट्टि हिंसा र हत्या जस्ता त्रसित पार्ने र धनजन विनाश गर्ने व्याप्त क्रियाकलापको श्रेय पनि मानव असन्तुष्टिले नै पाउँछ भन्नु अत्युक्ति नहोला।साच्चै भन्नु पर्दा मेरो डायरि प्रतिको मेरो उदात्त मोह पनि यहि मानव असन्तुष्टिको एउटा पृथक स्वरूप हो।तर यो डायरि प्रतिको मोह मात्र होइन।यो त मेरो इतिहास र संस्कृति प्रतिको मोह हो। मेरो डायरि देशको अस्तित्व रक्षाका लागि पल्टनमा खटेका बेलाका गतिबिधि समावेश दैनिकी हो। मेरो डायरि जो हराएको छ, यो त म हुर्के बढेको लोक संस्कारलाई प्रतिबिम्बित गर्ने दर्पण हो अनि अमुर्त साक्षी पनि।
डायरि हराएकै दिनदेखि म एक किसिमको एकाङ्कीपनाको अनुभूत गर्न थालेछुँ। हुन त मलाई विक्षिप्त देखेर ढाढस दिने प्रयत्न गर्नेहरु नभएका पनि होइनन, तर यसका बाबजुत मेरा दिनचार्यहरु किम्कर्तव्यबिमुडमा गुज्रन थालेछन अनि मेरो यो नलेखिएको दैनिकी प्रति वितृष्णा जाग्न थालेछ। मलाई लग्न थाल्यो कि मेरा आँखाहरु छन् तर दृष्टि छैन, मुहार छ तर कुनै जीवीत भाव छैन, मुख छ तर शब्दहरु छैन र मेरा कानहरु जति सतर्क मुद्रामा तन्के पनि यिनीहरुको श्रवण क्षमता अति क्षीण थालेको छ।म धर्मभिरु मान्छेले मन्त्र भट्टयाए झैं बेलाबेलै चिच्याउन थालेछु DIARY- Diary I always remember you.
अहिले म डायरि खोज्ने कोशिश गर्दैछु र भेटाउने कुरामा निकै आशावादी पनि छु।बजारबाट अरू गुणस्तरीय डायरि किनेर हराएको डायरिलाई प्रतिस्थापन गर्ने प्रयास गर्दैछु, तर यो त एउटा संस्मरण मात्र हो हुबहु त पक्कै पनि नहोला। अड्को पड्को तेलको धूप भनेझैँ केहि हद सहयोगी बन्ने कुरोमा भने चाहिँ विश्वस्त छु। तपाईंहरु कसैले फेलापार्नु भयो भने फिर्ता गर्दिनु होला है मेरो गोप्य शब्दले सुरक्षित गरिएको (password protected) डायरि।  

2 comments:

  1. 'हराएको डायरि' पढ्द-पढ्दै म नै हराए छु ।

    ReplyDelete